गोरखा दरबार संग्रहालय
परम्परागत चौघराशैलीको ४ तल्ले तल्लो दरबार आफैंमा एउटा महत्वपूर्ण साँस्कृतिक सम्पदा हो । परम्परागत नेपाली दरबारहरु मध्ये यो सबैभन्दा कान्छो दरबार हो । तल्लो दरबारको जीर्णोंध्दार संवत २०५८ तिर सकिएको थियो । तयारी पुगेर पनि बिबिध कारणले उद्घाटन हुन नसकेको गोरखा दरबार संग्रहालयको उद्घाटन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालबाट संवत २०६५ साल जेठ १९ गते ९ जुन २००७ भएको हो । तत्कालिन गोरखा राज्यको इतिहास, सँस्कृति र पुरातत्त्वसंग सम्बन्धित बिषयवस्तुलाई उजागर गर्ने उद्देश्यले गोरखा दरबार संग्रहालयको स्थापना गरिएको हो । संग्रहालयले आफ्नो उद्देश्य अनुरुप हुनेगरी यस क्षेत्रमा छरिएर रहेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण सामाग्रीरूको खोजी, संकलन तथा संरक्षण गरेर दरबारको बिभिन्न कक्षहरुमा प्रदर्शन गरेको छ । दरबारको अतिरिक्त, औषधीय गुणहरु भएको बोटबिरूवा सहितको सुन्दर बगैंचा, राजा पृथ्वीनारायण शाहको शालिक,बाल उद्ध्यान तथा विश्रामस्थलहरू सहित ३।५ हेक्टर जति क्षेत्रमा गोरखा दरबार संग्रहालय फैलिएको छ ।